काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सञ्चारगृहका प्रवेशद्वार अवरुद्ध हुने गरी सवारीसाधन पार्किङ गर्ने जोसुकै भए पनि कारबाही हुने बताएका छन्।
सोमबार केही सञ्चारगृह र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको घर अगाडि निजी नम्बर प्लेटका सवारीसाधन प्रवेशद्वार अवरुद्ध हुने गरी पार्किङ गरिएको भेटिएको थियो। प्रहरीले ती सवारीसाधन हटाएर जरिवानासहित छाडेको थियो।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले ती सवारीसाधन रास्वपाका कार्यकर्ताले राखेका भए पनि कानुनअनुसार कारबाही हुने स्पष्ट पारे।
उनले घटनालगत्तै रास्वपाले विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रताको पक्षमा पार्टी दृढ रहेको र दोषीमाथि कारबाही हुने स्पष्ट गरिसकेको उल्लेख गरे।
लामिछानेले भने, “जोसुकैको संलग्नता भए पनि कानुनअनुसार कारबाही हुन्छ। रास्वपाले आफ्नै सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेको इतिहास छ।”
प्रधानमन्त्री वालेन्द्र शाहसँग हालै भएको भेटबारे उनले सुकुमवासी समस्याको दिगो समाधान, समसामयिक राजनीतिक अवस्था तथा पार्टीका विभिन्न विषयमा छलफल भएको जानकारी दिए।

