काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिक अगुवा तथा पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रका सजग पहरेदार गुमाएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाले डा. पाण्डेले जीवनभर नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाको पक्षमा निर्भीकतापूर्वक आवाज उठाएको उल्लेख गरेका छन्। उनले नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण चरणमा नागरिक तहबाट संघर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध सशक्त भूमिका खेलेको र नयाँ पुस्तालाई निरन्तर प्रेरित गरेको बताएका छन्।
थापाले अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा डा. पाण्डेले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टि दिएको उल्लेख गरेका छन्। सार्वजनिक जीवनमा उनले देखाएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासत बन्ने उनको भनाइ छ।
साथै, सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको पक्षमा डा. पाण्डेले निर्वाह गरेको भूमिका विशेष स्मरणीय रहेको उल्लेख गर्दै थापाले उनले जगाएको नागरिक चेतना र बौद्धिक सम्पदाले भावी पुस्तालाई पनि मार्गदर्शन गरिरहने विश्वास व्यक्त गरेका छन्।
सभापति थापाले दिवंगत डा. पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

