‘तीन दलीय प्रदेश सरकार लोकतान्त्रिक म्यान्डेटविपरीत’ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका लागि तीन ठूला दल मिल्नुपर्ने प्रस्तावप्रति असहमति जनाउँदै त्यसले लोकतान्त्रिक मूल्य–मान्यता र जनमतको अपमान हुने बताएका छन्।

ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार गठन गर्दा प्रदेश संसद् प्रतिपक्षविहीन बन्ने भएकाले यस्तो प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पारे।

उनले जनताले दिएको म्यान्डेटभन्दा बाहिर गएर तीन दलीय सरकार बनाउने प्रयास लोकतान्त्रिक अभ्यासविपरीत हुने भन्दै नेपाली कांग्रेसले यस्तो अवधारणा स्वीकार नगर्ने बताए।

थापाले विगतमा सत्ता प्राप्तिकै लागि नेपाली कांग्रेसबाट पनि केही गल्ती भएको स्वीकार गर्दै अब सिद्धान्तमा सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार सत्तालाई सबैभन्दा ठूलो उद्देश्य बनाउने प्रवृत्तिका कारण २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको छ।

राजनीतिक दलहरूमा बढ्दो सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै उनले बिहानसम्म सत्तापक्षमा रहेको दल भोलिपल्ट प्रतिपक्षमा र प्रतिपक्षमा रहेको दल एकाएक सत्तापक्षमा पुग्ने प्रवृत्तिले राजनीतिको विश्वसनीयता र साख कमजोर बनाएको टिप्पणी गरे।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको