काठमाडौँ । केन्द्रीय राजनीतिक समीकरण परिवर्तन हुने चर्चाका बीच नेकपा एमाले तत्काल बागमती प्रदेश सरकारबाट नबाहिरिने भएको छ।
काठमाडौंको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टीको औपचारिक निर्देशन नआएसम्म सरकार नछाड्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसुदन पौडेलले पार्टीको शीर्ष नेतृत्वबाट स्पष्ट निर्देशन नआएसम्म एमालेका मन्त्रीहरूले राजीनामा नदिने बताए।
उनले पछिल्लो समय सञ्चारमाध्यम र राजनीतिक वृत्तमा फैलिएका मन्त्रीहरूको राजीनामासम्बन्धी चर्चालाई अनुमान र हल्लामात्र भएको उल्लेख गरे।
मन्त्री पौडेलले भने, “पार्टीको माथिल्लो निकायबाट अहिलेसम्म कुनै निर्देशन आएको छैन। निर्देशन आएपछि पार्टीले जे निर्णय गर्छ, हामी त्यहीअनुसार अघि बढ्छौँ ।”

