काठमाडौँ । सेयर बजारमा लगातार छैटौं कारोबार दिन पनि वृद्धि भएको छ। मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढेर २७२६.०० विन्दुमा पुगेको छ, जुन जेठ २८ यताकै उच्च स्तर हो।
कारोबारका क्रममा नेप्से दिउँसो १२:४९ बजे २७५३ विन्दुसम्म पुगेको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढ्दै ६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। सोमबार ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको थियो।
आज १०३ कम्पनीको शेयर मूल्य बढ्दा १६२ कम्पनीको घट्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्यो।
समूहगत सूचकतर्फ व्यापार समूह २.८८ प्रतिशतले सबैभन्दा धेरै बढ्यो। अन्य समूह १.२०, उत्पादन तथा प्रशोधन ०.६४, लगानी ०.४९ र बैंकिङ ०.०९ प्रतिशतले उकालो लागे। यता विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहका सूचक भने घटेका छन्।
हालै सूचीकृत एभरेस्ट कलरको शेयर मूल्य १५ प्रतिशतले बढ्यो। कालंगा हाइड्रोपावर, बोटलर्स नेपाल बालाजु, सानीगढ हाइड्रोपावर, स्नो रिभर्स र रिडी पावरका शेयर पनि उल्लेख्य रूपमा बढेका छन्। त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक, भुजुङ हाइड्रोपावर र चिरख्वा हाइड्रोपावरका शेयर मूल्यमा गिरावट आएको छ।

