काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाहरूको त्याग, बलिदान, साहस र वीरताकै कारण आज नेपालीहरूले शिर उँचो बनाएर गौरवका साथ उभिन पाएको बताएका छन्।
राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रममा बोल्दै उनले इतिहासका असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानप्रति न्याय गर्न र उज्ज्वल भविष्य निर्माण गर्न सकिने धारणा व्यक्त गरे।
राष्ट्रपति पौडेलले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको संरक्षणका लागि वीर पुर्खाहरूले पुर्याएको योगदानको प्रशंसा गर्दै आपसी भाइचारा, सहिष्णुता र एकताको जगमा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।
उनले भ्रष्टाचार, विकृति र विसंगति अन्त्य गर्दै सुशासनमार्फत देश विकासलाई तीव्रता दिन सबै एकजुट हुनुपर्ने उल्लेख गर्दै यही नै राष्ट्रिय विभूति भीमसेन थापासहित सम्पूर्ण वीर पुर्खाप्रतिको सच्चा सम्मान हुने बताए।

