पूँजीबजार विकासमा उच्च नैतिकता र लगानीकर्ता संरक्षणलाई प्राथमिकता दिन अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डलाई नियमनको गुणस्तर सुधार गर्दै पूँजीबजार विकासमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका छन्।

सोमबार बोर्डको स्थलगत निरीक्षणका क्रममा पुगेका अर्थमन्त्री वाग्लेले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित दीर्घकालीन उद्देश्यका साथ काम गर्न आग्रह गरेका हुन्। नयाँ अध्यक्ष नियुक्तिपछि बोर्डले सकारात्मक दिशातर्फ अघि बढ्न खोजेको आफूले महसुस गरेको उनले बताए।

“उच्च नैतिकतासहित पूँजीबजार विकासको कार्य अघि बढाउनुहोस्,” अर्थमन्त्री वाग्लेले बोर्ड नेतृत्वलाई निर्देशन दिए।

उनले नियमनको दायित्वका हिसाबले नेपाल धितोपत्र बोर्डमाथि नेपाल राष्ट्र बैंकजत्तिकै महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै लगानीकर्ताको सम्पत्तिको संरक्षणमा केन्द्रित हुन आग्रह गरे।

नयाँ सरकार गठनपछि पूँजीबजारका लगानीकर्ताको अपेक्षा बढेको भन्दै उनले नियमनकारी कानुन निर्माण गर्दा सबै सरोकारवालासँग पर्याप्त छलफल गरी साझा बुझाइका आधारमा कार्यान्वयन गर्नुपर्ने बताए। उनले बजारका सबै हिस्सेदारलाई साथमा लिएर लगानीकर्ताका माग सम्बोधन गर्न पनि बोर्डलाई आग्रह गरे।

नेपालको सेयर बजारलाई एसियाकै दोस्रो उत्कृष्ट र प्रतिस्पर्धी बजार बनाउने नवनियुक्त अध्यक्षको लक्ष्य कार्यान्वयनमा आएको हेर्न आफू इच्छुक रहेको अर्थमन्त्री वाग्लेले बताए। उनले सरकार र मन्त्रालयबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टले पूँजीबजार विकासका लागि ब्लूप्रिन्ट तयार गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिए।

उनका अनुसार चालु साउन महिनाभित्रै प्राथमिक तथा दोस्रो बजारमा आईपीओ निष्कासन, इन्ट्रा डे कारोबार, मार्जिन ल्यान्डिङ र सर्ट सेलिङसम्बन्धी निर्देशिका तयार गरिनेछ। त्यसपछि भदौ महिनामा सम्बन्धित सरोकारवालासँग छलफल गरी ती निर्देशिका क्रमशः लागू गरिने उनले बताए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको