निर्वाचन आयुक्तका प्रस्तावित दुई उम्मेदवारको संसदीय सुनुवाइ सुरु

काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको सुनुवाइ प्रक्रिया सुरु भएको छ।

आजको बैठकमा प्रस्तावित आयुक्त वाग्लेले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सांसदहरूको जिज्ञासाको जवाफ दिएका छन् भने डा. सुब्बाको सुनुवाइ केही समयपछि हुने कार्यसूची रहेको छ। उजुरी दर्ता प्रक्रिया पूरा भएपछि दुवैलाई कार्ययोजना प्रस्तुत गर्ने अवसर दिइएको हो।

सुनुवाइका क्रममा सांसदहरूले निर्वाचन प्रणालीलाई थप पारदर्शी, विश्वसनीय, मितव्ययी र निष्पक्ष बनाउने योजना, निर्वाचन कानुनमा आवश्यक संशोधन तथा विदेशमा रहेका नेपालीको मतदान अधिकारबारे प्रतिबद्धता माग गरेका थिए। समितिका सभापति बोधनारायण श्रेष्ठले नतिजामुखी कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिएका छन्।

संवैधानिक परिषद्को असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम सिफारिस गरेको थियो। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको संसदीय सुनुवाइ बुधबार हुने तय भएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको