काठमाडौँ । नेकपा एमालेकी सांसद पद्मा अर्यालले ग्रामीण क्षेत्रमा निर्वाचन अझै पूर्ण रूपमा निष्पक्ष हुन नसकेको भन्दै मतदान केन्द्रमा लाइभ सीसीटीभी जडान गर्न सुझाव दिएकी छन्।
मंगलबार संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनुवाइका क्रममा बोल्दै अर्यालले शहरी क्षेत्रमा निर्वाचन निष्पक्ष भए पनि ग्रामीण क्षेत्रमा सुधार आवश्यक रहेको बताइन्।
उनले भनिन्, “ग्रामीण क्षेत्रमा अझै सबै ठाउँमा निर्वाचन निष्पक्ष हुन सकेको छैन। मतदान केन्द्रमा लाइभ सीसीटीभी राख्न सकियो भने पारदर्शिता बढ्छ, नत्र पीडितको गुनासो पनि सुनिँदैन।”
प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको संसदीय सुनुवाइ समितिमा सुनुवाइ जारी छ।

