काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति सहज नभएको बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले जनताले जसरी अभिमत प्रकट गरेका थिए, त्यस अनुरुप सरकारले काम गर्न नसकेको उनको भनाइ थियो ।
उनले भने, ‘अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैन । हामीले आफ्नो आफ्नो मत राखेका छौं, यो राम्रो कुरा हो ,’ ‘गत निर्वाचनमा हामीले जसरी आफ्ना कुरा राख्यौं, जनताले जसरी आफ्नो अभिमत प्रकट गरे । यसबीचका सरकारका क्रियाकलापले जनताको अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन ।’
उनले सुनसरीको कप्तानगञ्जमा भएको प्रकरणमा छानबिनको माग गरेका छन् । ‘त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन भन्ने विषयमा अध्ययन गरी वास्तविकता बाहिर ल्याउन विशेष अपिल गर्न चाहन्छु,’ उनले भने । प्रचण्डले सबैलाई सद्भाव कायम राख्ने सन्दर्भमा सरकारलाई विशेष ध्यान दिन आग्रह समेत गरे ।
उनले यो घटनापछि सर्वदलीय बैठक राखेकोमा धन्यवाद दिँदै प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थिति चिन्ताको विषय भएको बताए ।

