काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्जलगायत पूर्वी तराई–मधेसका केही क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्।
शुक्रबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले घटनामा भएको मानवीय क्षति, सुरक्षाकर्मी र नागरिक घाइते भएको अवस्था तथा बढ्दो सामाजिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गरे।
उनले राष्ट्रियसभाका तर्फबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए।
नेपालको संविधानले बहुजातीय, बहुभाषिक र बहुधार्मिक विविधतालाई आत्मसात् गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई कमजोर पार्ने हिंसा, घृणा तथा साम्प्रदायिक विभेदका कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारे।
यसैबीच, राष्ट्रियसभाको बैठक साउन १८ गते सोमबार दिउँसो १:१५ बजेसम्मका लागि स्थगित गरिएको छ।

