काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले लिखु गाउँपालिकाको विकास निर्माण, पूर्वाधार र स्थानीय जनसमस्याबारे सरोकारवालासँग छलफल गरेका छन्।
शुक्रबार सञ्चार मन्त्रालयमा आयोजित छलफलमा लिखु गाउँपालिकाका स्थानीयवासी, जनप्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका जिल्ला सभापति रामेश्वर गजुरेलसहित पार्टीका पदाधिकारीले स्थानीय तहका विकासका आवश्यकता र चुनौतीबारे जानकारी गराएका थिए।
छलफलका क्रममा कृषकले रासायनिक मल अभाव, कृषि उपजको उचित बजार नपाउनु, सिँचाइ सुविधाको कमी तथा सडक पूर्वाधार सुधारको आवश्यकता जस्ता विषय उठाएका थिए। साथै गाउँपालिकामा सञ्चालन भइरहेका विकास आयोजनालाई थप प्रभावकारी र तीव्र बनाउनुपर्ने माग पनि गरेका थिए।
जवाफमा सञ्चारमन्त्री तिमिल्सिनाले स्थानीय समस्याको समाधानका लागि स्थानीय तहबाट नै सक्रिय पहल आवश्यक रहेको बताउँदै आवश्यकता पहिचान गरी योजनाबद्ध रूपमा अघि बढे विकासलाई प्रभावकारी बनाउन सकिने धारणा राखे।
उनले दीर्घकालीन विकासका चुनौती समाधान गर्न स्थानीय, प्रदेश र संघीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै तीनै तहको संयुक्त प्रयासबाट मात्रै नागरिकका अपेक्षा पूरा गर्न सकिने बताए।
नुवाकोटबाट निर्वाचित सांसदका रूपमा जिल्लावासीका समस्याप्रति आफू गम्भीर रहेको बताउँदै मन्त्री तिमिल्सिनाले विकास, पूर्वाधार विस्तार तथा जनजीविकासँग सम्बन्धित विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।
उनले जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय समुदाय र सम्बन्धित निकायबीच निरन्तर संवाद र सहकार्य कायम रहे विकास निर्माणले गति लिने विश्वास व्यक्त गरे। मन्त्री तिमिल्सिनाले यसअघि ककनी, तादीलगायत जिल्लाका अन्य पालिकाका समस्या र विकासका आवश्यकताबारे पनि छुट्टाछुट्टै छलफल गरिसकेका छन्।

