काठमाडौँ । जनकपुरमा गृहमन्त्री सुधन गुरुङ नेतृत्वको सरकारी टोली र आन्दोलनरत हिन्दु धार्मिक मोर्चाबीच १३ बुँदे सहमति भएको छ।
विभिन्न १३ बुँदे मागसहित आन्दोलनमा उत्रिएको मोर्चासँग शनिबार दुई चरणमा भएको वार्तापछि सहमति जुटेको हो। सहमतिअनुसार मोर्चाले उठाएका १२ वटा माग कार्यान्वयनका लागि सरकारले तत्काल आवश्यक प्रक्रिया अघि बढाउने भएको छ।
नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने मागमा भने सरकारले सर्वदलीय छलफलका लागि तीन महिनाको समय मागेपछि दुवै पक्ष सहमत भएका छन्।
वार्तामा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, धनुषाका प्रतिनिधिसभा सदस्य, मधेस प्रदेश सरकारका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तथा विभिन्न धार्मिक सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।

