काठमाडौं । राष्ट्रियसभामा पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) प्रवेश गरेको विषय उठाउँदै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबारको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले लिपुलेक–लिम्पियाधुरा र सुस्ताका घटनाको प्रसंग उठाउँदै सीमा सुरक्षाबारे सरकारसँग जवाफ मागे। उनले सुस्तामा एसएसबीले निर्माणाधीन अस्थायी बाँध भत्काएको र तीन जना नेपाली युवा घाइते भएको विषय उल्लेख गर्दै सीमा सुरक्षामा सरकार गम्भीर हुनुपर्ने बताए।
सांसद विश्वकर्माका अनुसार आइतबार करिब १५ जना सादा पोसाकमा र अन्य करिब ६० जना हतियारसहित एसएसबी नेपाली भूमिमा प्रवेश गरेका थिए, जसपछि सुस्तामा विवाद उत्पन्न भएको थियो।
बैठकमा जनता समाजवादी पार्टी (नेपाल)की सांसद पूजा चौधरीले पनि सुस्ता क्षेत्रमा भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न र कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न आग्रह गरिन्।

