काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ का लागि साउनदेखि लागू हुने नयाँ तलबमान सार्वजनिक गरेको छ।
साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड तथा प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको थियो। सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको बजेटमार्फत कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि र १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो।
नयाँ तलबमानअनुसार मुख्य सचिवको प्रारम्भिक तलब रु ८४ हजार ९३२, राजपत्राङ्कित विशिष्ट श्रेणीको रु ७९ हजार २९०, अतिरिक्त सचिव (पेन्सन प्रयोजन)को रु ६६ हजार ५३९ तथा राजपत्राङ्कित प्रथम श्रेणीको रु ६२ हजार ४६६ निर्धारण गरिएको छ।
यस्तै, राजपत्राङ्कित द्वितीय श्रेणीको तलब रु ५३ हजार ६११ र राजपत्राङ्कित तृतीय श्रेणीको रु ४८ हजार ५८ तोकिएको छ।
राजपत्र अनङ्किततर्फ प्रथम अतिरिक्त मान (पेन्सन प्रयोजन)को रु ४१ हजार ५१७, प्रथम श्रेणीको रु ३८ हजार २०३, द्वितीय अतिरिक्त मान (पेन्सन प्रयोजन)को रु ३७ हजार ४०७, द्वितीय श्रेणीको रु ३६ हजार १९२, तृतीय श्रेणीको रु ३० हजार ३७३ र चतुर्थ श्रेणीको रु २८ हजार ६९० तलबमान कायम गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

