काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५०औँ स्वर्ण वर्षको अवसरमा ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।
भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा हुने प्रदर्शनीका लागि डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड’ छुट घोषणा गरिएको छ।
नाडाका अनुसार खल्ती एप वा आधिकारिक खल्ती क्यूआरमार्फत अग्रिम टिकट खरिद गर्नेले साधारण तथा विद्यार्थी दुवै टिकटमा ५० प्रतिशतसम्म छुट पाउनेछन्। सीमित अवधिका लागि मात्र लागू हुने भएकाले समयमै टिकट खरिद गर्न आयोजकले आग्रह गरेको छ।
यस वर्षको अटो शोमा नवीनतम विद्युतीय (ईभी) तथा इन्धनबाट चल्ने दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन, अत्याधुनिक अटो प्रविधि, पार्टपुर्जा, लुब्रिकेन्ट, वित्तीय तथा बिमा सेवाका विभिन्न प्रदर्शनी तथा जानकारी उपलब्ध हुनेछन्।

