सुदूरपश्चिममा एलपी ग्यास अभावको हल्ला, २४ दिनमै गत वर्षभरभन्दा बढी बिक्री

काठमाडौं । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यासको बिक्री तथा आपूर्ति दुवै बढेको छ। नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको साउन २४ गतेसम्म प्रदेशमा १ लाख १५ हजार ९९० सिलिण्डर ग्यास बिक्री भइसकेको छ।

धनगढीस्थित निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख मनोहर डिसीका अनुसार चालु साउनको २४ दिनमै गत आर्थिक वर्षको साउन महिनाभर बिक्री भएकोभन्दा बढी ग्यास बिक्री भएको हो। गत आर्थिक वर्षको साउनमा १ लाख १२ हजार ७७० सिलिण्डर बिक्री भएको थियो। यस वर्ष साउन २४ गतेसम्मै ३ हजार २२० सिलिण्डर बढी बिक्री भइसकेको छ।

कार्यालयका अनुसार साउनको बाँकी अवधिमा थप ५० हजार सिलिण्डर ग्यास आउने क्रममा छ। चालु साउन २४ गतेसम्म बिक्री भएको ग्यासको परिमाण १ हजार ६५७ मेट्रिक टन छ, जबकि गत वर्षको साउनभर १ हजार ४१६ मेट्रिक टन ग्यास बिक्री भएको थियो।

गत आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिममा कुल ११ लाख ५० हजार ८३४ सिलिण्डर अर्थात् १६ हजार ४४० मेट्रिक टन ग्यास बिक्री भएको थियो। त्यसअघिको आर्थिक वर्ष २०८१/८२ मा ११ लाख ८० हजार ८३० सिलिण्डर अर्थात् १६ हजार ८६९ मेट्रिक टन ग्यास बिक्री भएको थियो।

यस वर्षको साउनमा माग बढ्नुको मुख्य कारण ग्यास अभाव हुने हल्लाका कारण उपभोक्ताले अतिरिक्त सिलिण्डर भण्डारण गर्न थालेको निगमको भनाइ छ। जिल्ला प्रशासन कार्यालय कैलालीको नेतृत्वमा धनगढीमा गरिएको बजार अनुगमनका क्रममा पनि केही डिलरमा पर्याप्त मौज्दात रहे पनि कतिपय स्थानमा माग अस्वाभाविक रूपमा बढेको पाइएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बजारमा पर्याप्त ग्यास आपूर्ति भइरहेको भन्दै हल्लाको पछि लागेर अतिरिक्त सिलिण्डर भण्डारण नगर्न आग्रह गरेका छन्।

निगमका सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख डिसीले पनि प्रदेशमा ग्यास आपूर्तिको समस्या नरहेको स्पष्ट पारेका छन्। उनका अनुसार विगतका वर्षको तुलनामा अहिले बढी ग्यास आपूर्ति भइरहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको