काठमाडौं । प्युठानको स्वर्गद्वारी नगरपालिका–९ स्थित माडी खोलाका विभिन्न स्थानमा बिहीबार फेला परेका पाँच शवमध्ये तीनवटा रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबारामा गएको पहिरोमा बेपत्ता भएकाहरूको रहेको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार पहिरोमा परी बेपत्ता भएका व्यक्तिमध्ये तीनजनाको शव माडी खोलामा फेला परेको हो। पहिरोमा परी ७१ वर्षीया मनरखी पुन मगरको भने बुधबार नै शव फेला परेको थियो।
रोल्पाको कोटलबारामा गएराति गएको पहिरोमा परी १० जना बेपत्ता भएका थिए। बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन मगर, नौ वर्षीय अशिम पुन मगर, छ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर र ८० वर्षीय अजम्बर पुन मगर रहेका छन्।
त्यस्तै, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीय मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर पनि पहिरोपछि बेपत्ता भएका थिए।
प्युठानमा भेटिएका शवमध्ये तीनजनाको पहिचान रोल्पा पहिरोमा बेपत्ता भएकाहरूका रूपमा भएपछि खोज तथा उद्धार कार्यलाई थप तीव्र पारिएको प्रहरीले जनाएको छ।

