अदालत जान डराउँदिनँ, कानुनको सामना गर्छु : शेरबहादुर देउवा

काठमाडौं ।  नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र तथा कानुनी उल्झनबाट आफू विचलित नहुने बताएका छन्।

पाँच महिनापछि हङकङबाट फर्किएका देउवाले बिहीबार आफ्नो निवासमा भेला भएका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै आफूविरुद्ध परेका उजुरी र भइरहेका छानबिनबाट नडराउने बताएका हुन्।

उनले आफू अदालत जान नडराउने उल्लेख गर्दै लामो समय सार्वजनिक जीवनमा काम गर्दा आफूले कुनै आर्थिक अनियमितता नगरेको दाबी गरे। विभिन्न मुद्दामा पटक–पटक अदालत धाउनुपरे पनि आफू कानुनी प्रक्रियाबाट विचलित नहुने उनको भनाइ थियो।

सम्बोधनका क्रममा देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा गठन भएको शाही आयोगविरुद्ध आफूले मुद्दा लडेको प्रसङ्गसमेत उल्लेख गरे। उनले तत्कालीन शाही आयोगले आफूलाई जेल पठाएको भए पनि त्यसविरुद्ध कानुनी लडाइँ लडेको बताए।

आफू र आरजू राणालाई पक्राउ नगर्न अदालतले आदेश दिएको तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा समेत केही नरहेको उल्लेख गर्दै देउवाले देशमा जनता र अदालतप्रति आफूलाई विश्वास रहेको बताए।

उनले संविधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र स्थापना गरेको स्मरण गर्दै नेपाली जनता नै देशका मालिक भएको बताए। जनताले गरेको निर्णय नै अन्तिम हुने उल्लेख गर्दै देउवाले अदालतप्रति आफ्नो पूर्ण विश्वास रहेको धारणा व्यक्त गरे।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको