काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे होटलमा खाना पकाउने ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ।
आइतबार विज्ञप्ति जारी गर्दै चेम्बरले होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगका लागि सकारात्मक नभएको जनाएको हो।
हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजनमा गरिएको अनुगमनका क्रममा होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै सार्वजनिक टिप्पणी गरिएको थियो। त्यसप्रति प्रतिक्रिया जनाउँदै चेम्बरले पाँचतारे होटलको दैनिक ग्यास खपत र सञ्चालनको आकारलाई समेत ध्यान दिनुपर्ने बताएको छ।
चेम्बरका अनुसार पाँचतारे होटलमा दैनिक करिब ५० देखि ६० वटासम्म ग्यास सिलिन्डर खपत हुनु स्वाभाविक हो। यस्तो अवस्थामा करिब २०० सिलिन्डर मौज्दात रहनुलाई अस्वाभाविक मान्न नमिल्ने चेम्बरको भनाइ छ।
व्यावसायिक प्रयोजनका लागि आवश्यक मौज्दातलाई मात्र आधार बनाएर त्यसलाई अस्वाभाविक वा गैरकानुनी गतिविधिसँग जोडेर निष्कर्ष निकाल्नु उचित नभएको चेम्बरले जनाएको छ।
चेम्बरले कृत्रिम अभाव सिर्जना गर्ने, अवैध कारोबार गर्ने तथा कानुनविपरीतका गतिविधिको समर्थन नगर्ने स्पष्ट पारेको छ। तर वैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई हतोत्साहित गर्ने गरी अतिरञ्जित प्रचार हुँदा लगानीको वातावरणमा नकारात्मक असर पर्न सक्ने भन्दै सम्बन्धित पक्षलाई संवेदनशील हुन आग्रह गरेको छ।
होटल तथा पर्यटन व्यवसायसहित अन्य उद्योगमा आपूर्ति, नियमन वा अन्य समस्या देखिए सम्बन्धित निकायले व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग संवाद र समन्वय गरी समाधान खोज्नुपर्नेमा चेम्बरले जोड दिएको छ।

