काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिलाई लिएर मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सत्तापक्ष र विपक्षी सांसदबीच भनाभन भएपछि होहल्ला भएको छ।
बैठकमा बोल्दै सङ्ग्रौलाले विगतमा लामो समय शासन गरेका दलहरूकै कारण गत भदौमा जेनजी आन्दोलन भएको टिप्पणी गरिन्। आन्दोलनमा ज्यान गुमाएकाहरूको रगत नसुक्दै विपक्षी सांसदहरूले वर्तमान सरकारमाथि आरोप लगाइरहेको उनको भनाइ थियो।
सङ्ग्रौलाको अभिव्यक्तिपछि विपक्षी बेन्चका सांसदहरू उठेर विरोध जनाएका थिए। त्यसक्रममा नेकपा (एमाले)की सांसद साजिदा सिद्दीकीले प्रतिवाद गर्दै वर्तमान सरकारले मुलुकमा गुण्डाराज चलाएको आरोप लगाइन्।
सिद्दीकीले जेनजी आन्दोलनको कुरा गर्नेले सिरहामा सरकारले चलाएको गोलीबारे पनि जवाफ दिनुपर्ने माग गरिन्। त्यसपछि सङ्ग्रौलाले सिद्दीकीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेकी छन्।
दुवै पक्षका सांसदबीच आरोप–प्रत्यारोप र भनाभन भएपछि प्रतिनिधि सभा बैठकमा केहीबेर चर्को होहल्ला भएको थियो।

