काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा झरेको छ।
दिनभर उतारचढाव देखिएको बजारमा नेप्से करिब २६५० विन्दुसम्म पुग्ने प्रयास गरे पनि कारोबार बन्द हुँदा २६२२ विन्दुमा सीमित भएको हो।
आज ३४७ कम्पनीका १ करोड ५१ लाख कित्ता सेयर ५५ हजार २४६ पटक कारोबार हुँदा कुल ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
बजार घट्दा २१८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५६ कम्पनीको मूल्य बढेको र ५ कम्पनीको मूल्य स्थिर रहेको छ। उत्पादनमूलक समूह १.४० प्रतिशतले घट्दा अन्य समूहमा भने एक प्रतिशतभन्दा कम उतारचढाव देखिएको छ।
आज सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १४.९९ प्रतिशत र माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको १४.९८ प्रतिशतले बढेको छ। यता, सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक १०.६३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा कृषि विकास बैंकको ऋणपत्र शीर्ष स्थानमा रह्यो। उक्त ऋणपत्रको ५० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, सोलु हाइड्रोपावरको ३९ करोड १४ लाख र खानीखोला हाइड्रोपावरको २५ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

