काठमाडौँ । एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट खतरा उत्पन्न भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बालेन्द्र शाह नेतृत्वको सरकारको छोटो कार्यकालमै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका विषयमा गम्भीर प्रश्न उठेको दाबी गरे ।
उनले रास्वपाभित्रको आन्तरिक सत्ता संघर्षले समेत नेपालको राष्ट्रियतामाथि गम्भीर संकट आउनसक्ने चिन्ता बढाएको बताए । रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण हुनुभन्दा एक दिनअघि प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा आकस्मिक रूपमा उपस्थित भएको उल्लेख गर्दै बादलले सोही दिन प्रधानमन्त्रीले अस्वाभाविक र राष्ट्रविरोधी अभिव्यक्ति दिएको आरोप लगाए ।
गत १७ जेठमा प्रतिनिधिसभामा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको विषयलाई बादलले उठाएका हुन् । उनले एकातिर प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएको र अर्कोतिर सोही समयमा भारत भ्रमणमा रहेका रास्वपा सभापति लामिछानेको भव्य स्वागत भएको भन्दै यी घटनाले थप प्रश्न उब्जाएको टिप्पणी गरे ।

