काठमाडौँ । सरकारले विद्युत खरिद सम्झौता (पीपीए) खोल्ने प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार साँझ बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले पीपीए खोल्न आवश्यक मापदण्ड तयार गर्न उपसमिति गठन गरेको हो।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित उपसमितिले सात दिनभित्र पीपीएसम्बन्धी मापदण्ड तयार गरी सञ्चालक समितिमा पेस गर्नेछ।
उपसमितिमा विद्युत विकास विभागका उपमहानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सिडिइ शालिग्राम भण्डारी र विज्ञ रिवाज शर्मा सदस्य रहेका छन्। प्राधिकरणको व्यापार शाखाका निर्देशकलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ।
सञ्चालक समितिको निर्णयअनुसार आर्थिक ऐन, २०८३ मा भएको व्यवस्थाबमोजिम उत्पादन अनुमति प्राप्त ऊर्जा उत्पादकसँग पीपीए गर्ने विषयमा विद्यमान आधार तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट गठित समितिको सिफारिससमेत अध्ययन र विश्लेषण गरी मापदण्ड तयार गरिनेछ।
उक्त मापदण्ड सात दिनभित्र तयार गरी सञ्चालक समितिमा पेस गर्न उपसमितिलाई जिम्मेवारी दिइएको प्राधिकरणले जनाएको छ।

