कांग्रेसका आन्तरिक मतभेद संवादबाटै समाधान गर्न महामन्त्री पौडेलको अपिल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र रहेका आन्तरिक मतभेद र असन्तुष्टिलाई राजनीतिक संवादमार्फत समाधान गर्न नेता तथा कार्यकर्तालाई विशेष अपिल गरेका छन्।

शुक्रबार अपिल जारी गर्दै महामन्त्री पौडेलले पार्टीका विवाद लिएर अदालत जाने वा सडकमा पोखिने प्रवृत्तिले लोकतन्त्र र पार्टी दुवैलाई कमजोर बनाउने बताएका छन्। उनले असन्तुष्ट पक्षहरूलाई पार्टीको केन्द्रीय कार्यालय सानेपा आएर छलफल गर्न तथा आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउन आह्वान गरेका छन्।

मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पौडेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको संकेत गरेका छन्। प्रचण्ड बहुमतको सरकार भए पनि सत्तामा रहेकाहरूको गतिविधिले मुलुकलाई अनिश्चयतर्फ धकेल्ने जोखिम रहेको उनको भनाइ छ।

उनले अहिलेको सरकारलाई पर्याप्त खबरदारी नगरिए देशलाई फर्कनै नसक्ने अनिश्चयको दिशामा लैजाने खतरा रहेको बताएका छन्।

गत भदौ २३ र २४ गतेका घटनाक्रम तथा त्यसपछि विकसित परिस्थितिले मुलुक कठिन मोडमा पुगेको उल्लेख गर्दै पौडेलले कांग्रेस कमजोर हुँदा लोकतन्त्रसमेत संकटमा पर्ने चेतावनी दिएका छन्।

उनले सबै मतभेदलाई थाँती राखेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्दै झगडा वा रमिते बनेर बस्दा देशले सही नेतृत्व पाउन नसक्ने बताएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको