चीनको गुआङ्सीमा भीषण बाढी, १५९ जनाको मृत्यु, १० जना अझै बेपत्ता

काठमाडौँ । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा मेसाक चक्रवातका कारण आएको भीषण बाढीमा परी १५९ जनाको मृत्यु भएको छ भने १० जना अझै बेपत्ता छन्।

स्थानीय अधिकारीहरूले शुक्रबार सार्वजनिक गरेको विपद्पछिको उद्धार तथा पुनर्निर्माणसम्बन्धी तथ्याङ्कअनुसार चक्रवातसँगै परेको अत्यधिक वर्षाका कारण आएको बाढीबाट क्षेत्रीय राजधानी नान्निङ र गुइगाङ सहरमा मात्रै १६ लाख ५० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।

बाढीबाट ठूलो जनधनको क्षति भएपछि दुवै सहरले उद्धार तथा राहतसँगै विपद्पछिको पुनःप्राप्ति र पुनर्निर्माणलाई तीव्रता दिएका छन्। साथै, भविष्यमा यस्ता विपद्का जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, रोकथाम तथा राहत क्षमता अभिवृद्धिमा समेत ध्यान दिइएको अधिकारीहरूले बताएका छन्।

जुलाईको सुरुवातमा गुआङ्सी क्षेत्रमा ऐतिहासिक रूपमा लामो समयसम्म भारी वर्षा भएको थियो। लगातारको वर्षा र मेसाक चक्रवातको प्रभावका कारण नदी तथा जलाशयमा पानीको सतह बढेपछि क्षेत्रमा व्यापक बाढी आएको थियो।

अधिकारीहरूले प्रभावित क्षेत्रमा पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउँदै विस्थापित तथा प्रभावित नागरिकको जनजीवन सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको बताएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको