भक्तपुर / बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको हब बनाउने लक्ष्यसहित योजनाबद्ध रूपमा पर्यटन विकास अघि बढाउने बताएका छन्।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा विशेष पूजा गरेपछि आयोजित स्वागत तथा बधाई कार्यक्रममा उनले बागमती प्रदेशका १३ वटै जिल्लामा पर्यटन विकासको पर्याप्त सम्भावना रहेको बताए।
मुख्यमन्त्री थापामगरले भक्तपुर आफैँमा महत्वपूर्ण पर्यटकीय क्षेत्र रहेको उल्लेख गर्दै सूर्यविनायक र डोलेश्वरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए। डोलेश्वरमा विश्वभरबाट पर्यटक तथा विशेषगरी भारतीय पर्यटकको आगमन बढ्दै गएको भन्दै उनले पर्यटन प्रवर्द्धनमार्फत युवाका लागि रोजगारीका अवसर सिर्जना गर्ने योजना रहेको बताए।
उनले डोलेश्वर महादेवको आस्था, संस्कृति र संकल्पसँगै बागमती प्रदेशको समृद्धिको यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै १३ वटै जिल्लाको जनभावनालाई समेटेर प्रदेशको समग्र विकासमा अघि बढ्ने बताए।

