काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिमा व्यक्तिगत लाभभन्दा देश र जनताको अपेक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
‘नीति, संगठन र नेतृत्व’ कार्यक्रमको पहिलो शृङ्खलामा बोल्दै लामिछानेले आफूलाई प्रधानमन्त्री बन्ने अवसर आए पनि देशमा भइरहेको राजनीतिक परिवर्तन र जनताको अपेक्षालाई ध्यानमा राख्दै उक्त प्रस्ताव अस्वीकार गरेको बताए।
उनले २१ सिटको दलको नेताका रूपमा प्रधानमन्त्री बन्न आफ्नो हस्ताक्षर मात्र बाँकी रहने गरी प्रस्ताव आएको उल्लेख गर्दै आफूले ‘किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको’ बताए।
देशले परिवर्तन र नयाँ नेतृत्व खोजिरहेका बेला आफूलाई प्रधानमन्त्री बन्ने अधिकार नभएको उनको भनाइ थियो। उनले पार्टीका नेता–कार्यकर्ताको योग्यता, क्षमता र अनुभवलाई चुनौती दिन नसक्ने बताउँदै राजनीतिमा जिम्मेवारीसँगै प्रतिबद्धता, आँट, साहस र हिम्मत आवश्यक पर्ने बताए।
आगामी निर्वाचनमा केही नेता–कार्यकर्ताले टिकट नपाएपछि आफूविरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोख्न सक्ने भन्दै उनले त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने धारणा पनि राखे।

