काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी नदीको कटानबाट बराहक्षेत्र धामलाई जोगाउन सरकार गम्भीर रहेको बताउनुभएको छ।
कोशी तथा मधेस प्रदेशका विभिन्न आयोजना निरीक्षणका क्रममा बराहक्षेत्र पुग्नुभएका मन्त्री श्रेष्ठले स्थानीयवासीसँगको छलफलमा नदी नियन्त्रणका लागि विस्तृत प्राविधिक अध्ययन गरिने जानकारी दिनुभयो।
वर्षेनी कोशीको कटान र गेग्रानका कारण धार्मिक धरोहर जोखिममा परेको भन्दै उहाँले आवश्यक अध्ययनपछि चरणबद्ध रूपमा संरक्षणका काम अघि बढाइने बताउनुभयो। मन्त्रालयअन्तर्गतको नदी नियन्त्रण तथा तटबन्ध कार्यक्रममार्फत आवश्यक संरचना निर्माण गरिने उहाँको भनाइ छ।
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक डा. महेश्वर श्रेष्ठले मन्दिर व्यवस्थापन समितिले तयार गरेको डीपीआर अध्ययन गरी आवश्यकताअनुसार थप प्राविधिक काम अघि बढाइने बताउनुभयो।

