नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित क्षेत्रका नागरिकलाई सरकार एक्लै नछाड्ने बताउनुभएको छ।
उहाँले सामाजिक सञ्जालमार्फत बाढीपीडितप्रति संवेदना व्यक्त गर्दै नागरिकको पीडा र आँसुमा सरकारको साथ रहेको उल्लेख गर्नुभएको हो। जोखिममा रहेका नागरिकको खोज, उद्धार र सुरक्षाका लागि राज्यका सबै संयन्त्र परिचालन भइरहेको उहाँले बताउनुभएको छ।
मुख्यमन्त्री थापाले उद्धार र राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापनासम्म प्रदेश सरकार जनताको साथमा रहने स्पष्ट पार्नुभएको छ। जोखिममा रहेका सबै नागरिकलाई सुरक्षित स्थानमा ल्याउन निरन्तर प्रयास भइरहेको उहाँको भनाइ छ।

