काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले रसुवामा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा अन्य आवश्यक सहयोगका लागि ५ करोड रुपैयाँ बराबरको सहायता उपलब्ध गराउने भएको छ।
संघले तत्काल परिचालन हुने गरी घोषणा गरेको उक्त सहयोगबाट प्रभावित परिवारलाई राहत वितरण गर्नुका साथै उद्धार तथा आवश्यकताअनुसार अन्य सहायता प्रदान गरिने जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार अभियानलाई प्रभावकारी बनाउन अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा मूल समिति गठन गरिएको छ।
सहयोगका लागि आवश्यक रकम जुटाउन कोषाध्यक्ष कृष्ण तिमल्सिनाको नेतृत्वमा आर्थिक सहयोग संकलन समिति बनाइएको छ भने प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन मेडिकल टोली र स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको छ।

