रसुवा । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर धादिङ पुर्याएको सेफ तोडफोड गरी नगद चोरी गरेको आरोपमा २९ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरेको छ।
भदौ १० गते आएको बाढीले नगद राखिएको सेफ बगाएर धादिङको गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा पुर्याएको थियो। त्यहाँ भेटिएको सेफ स्थानीयले तोडफोड गरी नगद निकालेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
घटनाबारे शुक्रबार जानकारी पाएपछि धादिङ प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

