त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ मृतक र ४०५ बेपत्ता

काठमाडौं । भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोटमा मानवीय तथा भौतिक क्षति बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार बिहानसम्म ५१ जनाको मृत्यु भएको र ४०५ जना बेपत्ता रहेका छन्।

बाढीमा ज्यान गुमाएका सबै ५१ जनाको शव फेला परे पनि सनाखत हुन सकेको छैन। घटनामा ४० जना घाइते भएका छन् भने बेपत्ताको विवरण परिवार तथा आफन्तबाट प्राप्त सूचनाका आधारमा संकलन गरिएको प्रशासनले जनाएको छ।

विदुर र बेलकोटगढी नगरपालिका तथा तारकेश्वर र किस्पाङ गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन्। प्रारम्भिक विवरणअनुसार ७०० देखि ८०० निजी घरमा क्षति पुगेको छ।

त्यसैगरी, आठ सरकारी कार्यालय, कृषि विकास बैंक, तीन जलविद्युत् आयोजना र चार विद्यालयमा क्षति पुगेको छ। १५ पक्की तथा नौ झोलुङ्गे पुलमा क्षति पुगेपछि जिल्लाको यातायात सेवा प्रभावित भएको छ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक पूर्ण रूपमा अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन चुनौती थपिएको छ।

उद्धार कार्य जारी रहेको प्रशासनले जनाएको छ। हालसम्म हेलिकप्टरबाट १ हजार ८२३ जना र स्थलमार्गबाट ८५ जनाको उद्धार गरिएको छ। विस्थापितमध्ये ७९१ जनालाई विभिन्न आश्रयस्थलमा राखिएको छ।

प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गर्दै उद्धार तथा राहत कार्यमा सबै पक्षको सहयोग र समन्वय आवश्यक रहेको जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको