काठमाडौँ । रसुवा र नुवाकोटसहितका क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि परराष्ट्रमन्त्री शिशिर खनालले सर्बिया भ्रमणमा नजाने निर्णय गरेका छन्।
मन्त्रिपरिषद्को निर्णयअनुसार खनालको नेतृत्वमा तीन सदस्यीय टोली आइतबार सर्बिया जाने तयारीमा थियो। बाढीबाट भएको जनधनको क्षतिपछि देशमा विपद् व्यवस्थापन र उद्धारको अवस्था रहेकाले मन्त्री खनालले आफ्नो भ्रमण रद्द गरेका हुन्।
अब उक्त कार्यक्रममा नेपालबाट परराष्ट्र मन्त्रालयका संयुक्त राष्ट्रसङ्घ तथा विशिष्टीकृत सङ्घ संस्था महाशाखा प्रमुख कृष्णप्रसाद ढकालको नेतृत्वमा दुई सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुनेछ।
बेलग्रेडमा भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरण सभा आयोजना हुँदैछ।

