काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघीय सरकारको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको गुनासो गरेका छन्।
रसुवाको बाढीपहिरो क्षतिको स्थलगत अनुगमन प्रतिवेदन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउँदै उनले संघीय, प्रदेश र स्थानीय सरकारबीच पर्याप्त समन्वय हुन नसकेको बताए।
मुख्यमन्त्री थापाका अनुसार प्रदेश सरकारले प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर, अस्थायी सेल्टर, खाना तथा निःशुल्क यातायातको व्यवस्था गर्दै आएको छ। रसुवा, नुवाकोट, धादिङ र चितवनका प्रभावित क्षेत्रका लागि प्रदेश सरकारले २ करोड रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको उनले जानकारी दिए।
उनले मृतकका परिवारलाई तत्काल सद्गतका लागि प्रतिमृतक २५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको पनि बताए।
यसैबीच, आफ्नो जन्मदिन नमनाउने घोषणा गर्दै मुख्यमन्त्री थापाले बाढीपहिरो प्रभावितका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

