विपद्को बेला फिल्डमा खटिन प्रचण्ड–नेपाललाई नेकपाको सुझाव

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल जाने भएका छन्।

आइतबार बसेको केन्द्रीय संयोजन समितिको बैठकमा अधिकांश नेताले विपद्का बेला पार्टी नेतृत्व प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा देखिनुपर्ने सुझाव दिएपछि प्रचण्ड र नेपाल फिल्डमा जाने तयारी गरिएको हो।

भदौ १० गते आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो क्षति भएको थियो। बाढीपछि नेकपाले आकस्मिक बैठकमार्फत खोज, उद्धार तथा राहतमा पार्टी पंक्तिलाई परिचालन गरेको थियो।

पार्टीले बागमती प्रदेश इन्चार्ज डा. गङ्गालाल तुलाधरको संयोजकत्वमा खोज तथा उद्धार समन्वय समिति गठन गरेको थियो। संगठन विभाग प्रमुख वर्षमान पुन, नन्दकिशोर पुन ‘पासाङ’लगायत नेताहरू बाढी आएको दिन नै नुवाकोट पुगेका थिए।

भदौ ११ गते बागमती प्रदेशका अर्थ मामिला मन्त्री सरल सहयात्री पौडेल र पूर्वआन्तरिक मामिला मन्त्री गङ्गानारायण श्रेष्ठलगायत नेताहरूले पनि प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका थिए।

नेता गङ्गाले प्रभावित क्षेत्रको अवस्था, पीडितका समस्या र आवश्यकताबारे जानकारी लिएपछि पार्टी नेतृत्व पनि फिल्डमै पुग्नुपर्ने सुझाव आएको बताए।

प्रधानमन्त्री बालेन्द्र शाह, मन्त्रीहरू तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति गगन थापालगायत नेताहरू प्रभावित क्षेत्रमा पुगेपछि नेकपा नेतृत्व पनि स्थलगत रूपमा उपस्थित हुने तयारी गरिएको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको