काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको नयाँ मिति तय गरेको छ। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार असोज ३ र ४ गते देशभरका ६ हजार ७४३ वडामा अधिवेशन हुनेछ।
यसअघि भदौ २४ गतेदेखि वडा अधिवेशन गर्ने तयारी भए पनि रसुवाको भोटेकोशीमा आएको बाढीका कारण कार्यतालिका केही दिन पछाडि सारिएको हो।
वडा अधिवेशनसँगै क्षेत्रीय प्रतिनिधिको चयन हुनेछ। त्यसपछि असोज ७ गते स्थानीय तह र असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी छ। कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ।

