काठमाडौँ । एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग १५ रनको हार बेहोरेको छ।
२६२ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २४६ रन मात्र बनाउन सक्यो। नेपालका इशान पान्डेले उत्कृष्ट ब्याटिङ गर्दै ९० रन बनाए पनि उनको पारी टोलीलाई जिताउन पर्याप्त भएन।
आसिफ शेखले ४४ रन बनाए भने दीपेन्द्रसिंह ऐरी २५, करण केसी २१ र गुल्शन झा २० रनमा सीमित भए। हङकङका एइजाज खानले चार विकेट लिए।
पहिले ब्याटिङ गरेको हङकङले बाबर हायातको ११७ रनको अविजित शतकको मद्दतमा २६१ रन बनाएको थियो। बाबरले १२७ बलमा सात चौका र सात छक्का प्रहार गरे। एहसान खान ३४ रनमा नटआउट रहे।
नेपालका लागि सन्दीप लामिछानेले चार तथा शेर मल्लले तीन विकेट लिए। पराजित भए पनि नेपाल सेमिफाइनलमा पुगेको छ भने हङकङको जितसँगै मलेसिया प्रतियोगिताबाट बाहिरिएको छ।

