काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँ आज कोजाग्रत पूर्णिमा मनाएसँगै समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा धनधान्य तथा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज शास्त्रअनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको कार्य पनि सम्पन्न हुनेछ। यससँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा ग्रहण गरी मान्यजनबाट आशीर्वाद लिने क्रम समाप्त हुन्छ।
आजै जमरालाई नजिकका नदी, तलाउ, पोखरीलगायत पवित्र तीर्थस्थलमा विसर्जन गर्ने परम्परा छ। नवरात्र विजयादशमीकै दिन समाप्त हुने भए पनि दुर्गा पक्ष अर्थात् बडादसैँ भने आश्विन शुक्ल पूर्णिमाका दिन समापन हुने धार्मिक मान्यता रहेको छ।
यस दिन महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेमा घरमा सुख, समृद्धि र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ।

