काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच विकसित हुँदै गएको सम्बन्धलाई नेपालले अवसरका रूपमा लिनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले ब्रिक्स प्लस सम्मेलनमा पारित १४० बुँदे प्रस्ताव र दुई देशका शीर्ष नेताबीच भएको वार्ताले सकारात्मक संकेत दिएको बताएका हुन्।
उनका अनुसार भारत र चीनबीच सम्भावित ‘प्रतिस्पर्धात्मक सहकार्य’ बढ्दै जाँदा नेपालले त्यसबाट आर्थिक तथा रणनीतिक लाभ लिन सक्नुपर्छ। त्यसका लागि नेपालले कुनै द्विविधामा नपरी सन्तुलित र कुशल कूटनीति अवलम्बन गर्नुपर्ने उनले बताएका छन्।
भट्टराईले नेपाललाई दुई छिमेकीबीचको गतिशील सेतुका रूपमा विकास गर्दै आर्थिक समृद्धि र प्रभावकारी ‘सफ्ट पावर’ निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

