दुई महिनामै सरकारको खर्च २ खर्ब नजिक, आम्दानीभन्दा ९ अर्ब बढी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सरकारले करिब रु. २ खर्ब बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको कुल खर्च रु. १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख पुगेको छ, जुन वार्षिक बजेटको ९.४१ प्रतिशत हो।

कुल खर्चमध्ये चालु शीर्षकमा रु. १ खर्ब २२ अर्ब ३ करोड ५४ लाख अर्थात् वार्षिक विनियोजनको ९.६ प्रतिशत खर्च भएको छ। पुँजीगततर्फ रु. ७ अर्ब ६६ करोड ४८ लाख अर्थात् १.७८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ७० अर्ब १३ करोड ७० लाख अर्थात् १६.५९ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ।

यस अवधिमा सरकारको आम्दानी भने खर्चभन्दा कम रहेको छ। भदौ मसान्तसम्म कुल राजस्व रु. १ खर्ब ९० अर्ब १० करोड ७९ लाख संकलन भएको छ, जुन वार्षिक लक्ष्यको ११.५८ प्रतिशत हो। यसरी पहिलो दुई महिनामा सरकारको खर्च आम्दानीभन्दा करिब रु. ९ अर्ब ७२ करोड बढी रहेको छ।

कर राजस्वतर्फ रु. १ खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख र गैरकर राजस्वतर्फ रु. १० अर्ब ७७ करोड ६९ लाख संकलन भएको छ। यस्तै, चालु आर्थिक वर्षका लागि लक्षित प्रत्यक्ष वैदेशिक अनुदानमध्ये भदौ मसान्तसम्म रु. ५ अर्ब ५३ करोड प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको