काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री शाहले शहीदहरूको रगतले लेखिएको संविधानलाई सरकारले काममार्फत पूर्णता दिने बताउनुभयो।
उहाँले संविधानप्रतिको निष्ठा र यसको पालनामा सरकार पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै संविधानको मर्म हरेक इमानदार निर्णय, पारदर्शी नियुक्ति र नागरिकको घरदैलोमा पुग्ने सेवामार्फत कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।
सम्माननीय प्रधानमन्त्री शाहले जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्याय चाहेको उल्लेख गर्दै सरकारका हरेक कदम त्यही आकाङ्क्षातर्फ केन्द्रित रहेको बताउनुभयो।
उहाँले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी राज्यलाई राष्ट्रिय जीवनको आधारका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, विभेद तथा असमानताको अन्त्य र समतामूलक समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उहाँको भनाइ थियो।
सम्माननीय प्रधानमन्त्री शाहले भ्रष्टाचार र दण्डहीनताको अन्त्यका लागि सरकार अघि बढिरहेको बताउँदै प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनिक क्षेत्रमा राजनीतिक तटस्थता तथा सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रणाली अवलम्बन गरिएको जानकारी दिनुभयो।
“सुशासन नारा होइन, काम हो, हामी काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो।
उहाँले कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षासँगै नवप्रवर्तन तथा नवउद्यमलाई प्राथमिकता दिँदै ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने बताउनुभयो। डिजिटल सुशासनमार्फत युवाले माग गरेको सुशासन सुनिश्चित गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
भोटेकोशी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सम्माननीय प्रधानमन्त्री शाहले विपद् व्यवस्थापन तथा उद्धारमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी तथा आम नागरिकप्रति आभार व्यक्त गर्नुभयो।
उहाँले नेपाल विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्राथमिकता दिने तथा विपद्को पूर्वसूचना प्रणालीलाई सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताउनुभयो।
सम्माननीय प्रधानमन्त्री शाहले राजनीतिक परिवर्तन र सुशासनका लागि भएका आन्दोलनमा सहादत प्राप्त ज्ञात–अज्ञात शहीद तथा जेनजी आन्दोलनका सुशासन योद्धाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। साथै भोटेकोशी बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो।

