आज तीन संसदीय समितिको बैठक बस्दै, बाढी–पहिरो प्रभावित क्षेत्रबारे छलफल हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिका बैठक बस्न लागेका हुन्।

बिहान ९ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषिमन्त्री, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक लगायतलाई आमन्त्रण गरिएको छ। बैठकमा नार्कअन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट पहिचान भएका समस्या तथा चुनौती, प्राप्त निष्कर्ष र कृषि अनुसन्धान प्रणाली सुदृढीकरणका उपायबारे छलफल हुनेछ।

त्यस्तै, बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा बाढी–पहिरो प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा जनजीवन तथा पूर्वाधारमा परेको क्षति, पुनर्स्थापना र पुनर्निर्माणबारे छलफल हुनेछ। पुनर्निर्माणका लागि आवश्यक लगानी व्यवस्थापनलगायत विविध विषयमा पनि छलफल हुने जनाइएको छ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बिहान १० बजे बस्नेछ। बैठकमा रसुवास्थित भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, प्रभावित नागरिकको मानव अधिकार संरक्षण, जलवायु न्यायलगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको