नुवाकोट । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई राहतमा मात्र सीमित नराखी रोजगार, शिक्षा, स्वास्थ्य र आयआर्जनसँग जोडेर दीर्घकालीन व्यवस्थापन गरिने बताउनुभएको छ।
सञ्चारकर्मीसँग आज कुराकानी गर्दै मन्त्री तामाङले प्रभावित नागरिकको पुनःस्थापना र आत्मनिर्भर बनाउने विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। पालिकाको क्षमताअनुसार कम्तीमा दुई–दुई जना प्रभावित नागरिकलाई रोजगारीमा जोड्ने गरी योजना अघि बढाइने उहाँले बताउनुभयो।
उद्योगी, व्यवसायी तथा होटल व्यवसायीसँग समन्वय गरी प्रभावित नागरिकको क्षमता र आवश्यकताअनुसार रोजगारीमा संलग्न गराउने तयारी भइरहेको उहाँको भनाइ छ। राहत शिविरमा भोजन, आवास र स्वास्थ्य सेवाको व्यवस्था गर्नु मात्र पर्याप्त नहुने भन्दै उहाँले प्रभावितलाई दीर्घकालीन रूपमा आयआर्जन र आत्मनिर्भरतातर्फ लैजानुपर्नेमा जोड दिनुभयो।
मन्त्री तामाङले प्रभावित नागरिकलाई योग्यता र क्षमताअनुसार रोजगारी, स्वरोजगार वा व्यवसायमा फर्काउने नीति प्रदेश सरकारको रहेको बताउनुभयो। स्वास्थ्य तथा शिक्षाबाट प्रभावित नागरिकलाई वञ्चित हुन नदिने भन्दै ठूला तथा मझौला अस्पतालसँग समन्वय गरी स्वास्थ्य क्षेत्रमा समेत रोजगारीका अवसर सिर्जना गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।
बाढी प्रभावित क्षेत्रको स्वास्थ्य, शिक्षा तथा सामाजिक अवस्थासम्बन्धी तथ्याङ्क सङ्कलन गरी मन्त्रालयमा प्राप्त भइसकेको र त्यसको अध्ययनपछि आवश्यकताअनुसार कार्यक्रम कार्यान्वयन गरिने उहाँले बताउनुभयो।
नुवाकोटको लिखु गाउँपालिकास्थित क्षेत्रपाल माध्यमिक विद्यालयमा १३ कोठाको भवन प्रयोग गरी करिब २०० बालबालिकाका लागि शिक्षा, खाना र आवासको व्यवस्था गरिएको मन्त्री तामाङले जानकारी दिनुभयो। विद्यालय व्यवस्थापन तथा छात्रावासका लागि करिब १० लाख रुपैयाँ बराबरका सामग्रीसमेत व्यवस्थापन गरिएको उहाँको भनाइ छ।
बाढीका कारण नुवाकोटका विभिन्न क्षेत्रबीच आवतजावत प्रभावित भएपछि प्रदेश सरकारले तत्काल पाँच स्थानमा तुइन सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो। विपद् प्रभावित क्षेत्रमा सहयोग गर्न चाहने संघसंस्था तथा विदेशी संस्थालाई सरकारसँग समन्वय गरी दीर्घकालीन संरचना निर्माणमा सहभागी हुनसमेत उहाँले आग्रह गर्नुभयो।
मौसमी रोगको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा आवश्यक औषधि पठाइसकिएको जानकारी दिँदै मन्त्री तामाङले आगामी दसैँ–तिहारलाई लक्षित गरी प्रदेश सरकारले प्रभावित नागरिकका लागि अभिभावकको भूमिका निर्वाह गर्ने बताउनुभयो। रोजगार, सीपमूलक तालिम तथा जनसम्पर्कलाई प्राथमिकता दिने उहाँको भनाइ छ।

