काठमाडौँ । निर्वाचन आयोगले प्रारम्भिक मतदाता नामावली सार्वजनिक गर्दै नामावलीमा रहेका विवरण सच्याउन तथा दाबी–विरोध गर्न असोज १२ गतेसम्मको समयसीमा तोकेको छ।
आयोगले आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको प्रारम्भिक सूचीमा भदौ १५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका नागरिकको विवरण समावेश गरेको जनाएको छ।
नाम, थर, जन्ममिति वा अन्य विवरणमा गल्ती भए सम्बन्धित मतदाताले आयोगको वेबसाइटबाटै अनलाइन निवेदन दिएर सच्याउन सक्नेछन्। त्यस्तै, अयोग्य व्यक्तिको नाम हटाउन पनि दाबी–विरोध दर्ता गर्न सकिने आयोगले जनाएको छ।
हाल आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिकका लागि दुईवटा व्यवस्था सञ्चालन गरिरहेको छ। एनआईडीमा आबद्ध व्यक्तिले अनलाइनबाटै आवश्यक विवरण पेस गर्न सक्नेछन् भने अन्यले सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा पुगेर प्रक्रिया पूरा गर्नुपर्नेछ।

