काठमाडौँ । प्रतिनिधिसभामा सांसदहरूले रसुवाको भोटेकोशी बाढीमा उद्धार कार्यदेखि न्यायपालिका सुधार र हवाई सुरक्षासम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भोटेकोशी बाढीमा फसेका नागरिकको उद्धारमा ढिलाइ भएको भन्दै सरकारको आलोचना गरे। सुरुङभित्र फसेकाहरूको समयमै उद्धार हुन सकेको भए ज्यान जोगाउन सकिने अवस्था रहेको उनको भनाइ थियो।
रास्वपाका सांसद यज्ञमणी न्यौपानेले न्यायालय पनि विधि र प्रक्रियाअनुसार चल्नुपर्ने बताए। उनले समयअनुकूल न्यायालय निर्माणका लागि न्यायपालिकाको पुनःसंरचना आवश्यक रहेको भन्दै न्यायाधीशको सम्पत्ति छानबिन गर्न माग गरे।
कांग्रेस सांसद मदनकृष्ण श्रेष्ठले हवाई सुरक्षालाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे। उनले नेपाल वायुसेवा निगमलाई व्यवस्थित बनाउन आवश्यक कदम चाल्नुपर्ने बताए।

