काठमाडौँ । प्रतिनिधिसभाको आज बसेको बैठकमा ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल सम्पन्न भई विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सांसदहरूले उठाएका जिज्ञासा तथा सुझावको जवाफ दिँदै मन्त्री वाग्लेले प्राप्त सुझावलाई समेट्दै आगामी दफावार छलफलका क्रममा सम्बन्धित समितिमा थप विचार गरिने जानकारी दिए।
उनका अनुसार प्रणालीगत तरलतालगायत केही विषय विद्यमान संरचनाबाट सम्बोधन गर्न कठिन भएकाले अर्थतन्त्र सुधारको उद्देश्यसहित विधेयक अघि बढाइएको हो।
छलफलका क्रममा सांसदहरूले विदेशी डिजिटल भुक्तानी नेपालमा आउनु सकारात्मक भए पनि त्यसबाट मुलुकले प्राप्त गर्ने लाभ तथा सुरक्षित कारोबार सुनिश्चित गर्ने विषयमा स्पष्टता आवश्यक रहेको बताएका थिए। सभामुखले विधेयकमाथि नियमावलीअनुसार संशोधनको सूचना दर्ता गर्न सदस्यहरूलाई जानकारी गराएका छन्।
यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेपछि दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि अर्थमन्त्री वाग्लेलाई जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयको पत्र बैठकमा पढेर सुनाइएको छ।

