काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रयास नगर्न सचेत गराएका छन्।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथिको छलफलमा बोल्दै मन्त्री पुनले प्रयोगशालाको मुख्य उद्देश्य अनुसन्धान र नवप्रवर्तन हुनुपर्नेमा जोड दिए।
उनले विधि विज्ञान प्रयोगशालालाई आम्दानीको स्रोत वा डिग्री प्रदान गर्ने संस्थाका रूपमा विकास गर्दा यसको मूल उद्देश्य प्रभावित हुनसक्ने बताए। नेपालमा विश्वविद्यालय खोल्ने प्रतिस्पर्धा बढे पनि गुणस्तरीय पठनपाठनमा पर्याप्त ध्यान नदिइएको उनको भनाइ थियो।
मन्त्री पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लगायतका अनुसन्धानमूलक संस्थाहरू पनि पठनपाठनभन्दा अनुसन्धानमा केन्द्रित हुनुपर्ने धारणा राखे। विधि विज्ञानजस्तो संवेदनशील क्षेत्रलाई आर्थिक लाभसँग जोडेर कमजोर बनाउन नहुनेमा समेत उनले जोड दिए।

