बाढी प्रभावित बालबालिकाको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने : मन्त्री वादी

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा, स्वास्थ्य तथा दीर्घकालीन संरक्षणको जिम्मा सरकारले लिने घोषणा गरेकी छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री वादीले बाढीका कारण अभिभावक गुमाएका वा विस्थापित बालबालिकाको १८ वर्षसम्म पालनपोषण र शिक्षाको व्यवस्था गर्न मन्त्रालयले विशेष योजना अघि बढाएको जानकारी दिइन्।

उनका अनुसार प्रभावित बालबालिका पहिचान गरी शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनेछ। यसका लागि एमआइटी ग्रुप फाउन्डेसनसँग रु ५७ करोड ८५ लाखको समझदारी भएको र बालकोषबाट रु ७ करोड तत्काल परिचालन गरिएको छ।

मन्त्री वादीले बाढी प्रभावित क्षेत्रमा बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सुरक्षा र पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन्। साथै, राष्ट्रिय बाल अधिकार परिषद्को सहमति र स्थानीय तहको सिफारिसबिना बालबालिकाको ओसारपसार गैरकानुनी हुने भन्दै त्यसमाथि कडा निगरानी राखिएको जानकारी दिइन्।

धादिङ, नुवाकोट र रसुवामा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि विशेष हेरचाह केन्द्र निर्माण गरिने तथा प्रभावित ११ जना सुत्केरी र गर्भवती महिलाको हवाई उद्धार गरिएको पनि उनले बताइन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको