काभ्रे । चाडबाड बढे सँगै सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।
साल्ट ट्रेडिङ कर्पोरेसनको काभ्रे शाखाले असोज १ गते विहिबारदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कर्पोरेसनका अनुसार दैनिक करिब ६००जनासम्म उपभोक्ता सुपथ मूल्य पसलमा पुगेर खाद्य सामग्री खरिद गर्ने गरेका छन्।
चाडपर्वका समयमा खाद्य सामग्रीको माग बढ्ने र बजारमा मूल्यसमेत बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै उपभोक्तालाई सहुलियत दिन सुपथ मूल्य पसल सञ्चालन गरिएको साल्ट ट्रेडिङ कर्पोरेसन काभ्रे बनेपा शाखा कार्यालयका प्रमुख सुरेद्र अवालेले जानकारी दिनुभयो
उनका अनुसार पसलमा चिनी, नुन, विभिन्न प्रकारका दाल, चिउरा, मैदा, तोरीको तेल आटालगायत दैनिक उपभोगमा आउने खाद्य सामग्री सहुलियत मूल्यमा बिक्री भइरहेको छ। चाडपर्वको समयमा बजारमा हुने मूल्यवृद्धिको असरलाई केही हदसम्म कम गर्न सुपथ मूल्य पसल प्रभावकारी हुने उहाँको भनाइ छ ।
सुपथ मूल्य पसलमा खाद्य सामग्री खरिद गर्न उपभोक्ता लाइनमा बस्ने गरेका छन्। बजारको तुलनामा सहुलियत मूल्यमा सामग्री उपलब्ध हुनुका साथै गुणस्तरीय सामान पाइने भएपछि उपभोक्ताको चासो बढेको कर्पोरेसनले जनाएको छ।
बजारमा मूल्य बढिरहेको अवस्थामा सरकारी निकायबाट छुटसहित खाद्य सामग्री उपलब्ध गराइनु उपभोक्ताका लागि उपयोगी भएको उनको भनाइ छ।
विशेषगरी चिनी, नुन, खाने तेल तथा आटाजस्ता नियमित रूपमा प्रयोग हुने वस्तुमा सहुलियत पाएपछि उपभोक्ता सुपथ मूल्य पसलतर्फ आकर्षित भएका छन्। बजारमा विभिन्न खाद्य सामग्रीको मूल्यमा उतारचढाव भइरहेका बेला एउटै स्थानबाट आवश्यक सामग्री खरिद गर्न पाउँदा उपभोक्तालाई सहजसमेत भएको छ।
कर्पोरेसनले सुपथ मूल्य पसलबाट हुने कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन उपभोक्तालाई बिलसहित सामग्री उपलब्ध गराइरहेको जनाएको छ। उपभोक्ताले खरिद गरेको सामानको बिल प्राप्त गर्ने भएकाले कारोबारमा पारदर्शिता कायम गर्न सहयोग पुगेको कार्यालयको भनाइ छ।
हरेक वर्ष दशैँ, तिहार, छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि चाडपर्वको समयमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा सहुलियत उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गरिएको हो।
चाडपर्वका बेला घरायसी उपभोगका सामग्रीको खपत बढ्ने भएकाले सीमित आम्दानी भएका परिवारलाई बजार मूल्यको भार थपिने गर्छ। यस्तो अवस्थामा सहुलियत मूल्यमा खाद्य सामग्री उपलब्ध गराउने सरकारी पसलले उपभोक्तालाई केही आर्थिक राहत दिने अपेक्षा गरिएको छ।
कर्पोरेसनका अनुसार सुपथ मूल्य पसल आगामी कात्तिक ३० गतेसम्म सञ्चालनमा रहनेछ। उक्त अवधिसम्म उपभोक्ताले पसलमा उपलब्ध खाद्य सामग्री सहुलियत मूल्यमा खरिद गर्न सक्नेछन्।
चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गरिएको सुपथ मूल्य पसलमा उपभोक्ताको बढ्दो उपस्थिति र खरिद गतिविधिले सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने यस्ता कार्यक्रमप्रति नागरिकको चासो रहेको देखाएको छ। बजार मूल्यको तुलनामा सहुलियतमा खाद्य सामग्री उपलब्ध गराउने व्यवस्था चाडपर्वको समयमा उपभोक्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको प्रमुख सुरेद्र अवालेले ज्योतिष सचारलाई जानकारी दिनुभएको छ।

